उज्ज्वल थापाको जीवनमा आधारित ‘दिमाग घोचे मान्छे’ वृत्तचित्रको प्रिमियर सम्पन्न

नेपाली नागरिक चेतना, वैकल्पिक राजनीति र सामाजिक रूपान्तरणका अभियन्ता उज्ज्वल थापाको जीवनमा आधारित वृत्तचित्र ‘दिमाग घोचे मान्छे’ को विशेष प्रिमियर प्रदर्शन सम्पन्न भएको छ। वृत्तचित्रको प्रिमियर पुष २३ गते ललितपुरस्थित क्यूएफएक्स सिनेमा हलमा भव्य र सफल रूपमा सम्पन्न गरिएको हो।

एक घण्टा ५० मिनेट लामो वृत्तचित्रको प्रिमियर कार्यक्रममा सम्माननीय प्रधानमन्त्री सुरेन्द्र कार्की, माननीय गृहमन्त्री ओमप्रकाश अर्याल, माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्व मन्त्रीहरू, राजनीतिक नेताहरू, कलाकार, पत्रकार, बुद्धिजीवी तथा उज्ज्वल थापाका परिवारजन, साथीभाइ र शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

वृत्तचित्रमा उज्ज्वल थापाको बाल्यकाल, विदेशमा गरेको शैक्षिक यात्रा, स्वदेश फर्किएपछि नागरिक जागरण अभियान, वैकल्पिक राजनीतिक सोच र सामाजिक रूपान्तरणका लागि उनले पुर्‍याएको योगदानलाई गहिरो रूपमा प्रस्तुत गरिएको छ। परिवार, साथीभाइ र सहयात्रीहरूसँगका अन्तर्वार्ता तथा उनले सञ्चालन गरेका अभियानहरूको दस्तावेजीकरणमार्फत वृत्तचित्रले एक व्यक्तिको सक्रियताले समाजमा सकारात्मक परिवर्तन सम्भव हुन्छ भन्ने सन्देश दिएको छ।

यस वृत्तचित्र निर्माणका लागि सर्वसाधारणबाट १ हजार ५ सय ५४ जनाको सहभागितामा ६५ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग जुटाइएको थियो। वृत्तचित्र प्रदर्शन अवधिभर प्राप्त सम्पूर्ण आम्दानी तथा खर्चको विवरण पारदर्शिताका साथ उज्ज्वल थापा फाउन्डेसनको वेबसाइटमार्फत सार्वजनिक गरिने जनाइएको छ।

उज्ज्वल थापा फाउन्डेसनद्वारा निर्माण गरिएको यो वृत्तचित्र ‘ड्रिम विजार्ड (Dream Wizard)’ को प्रस्तुति हो भने यसको निर्देशन सुदीप आचार्यले गरेका हुन्।

प्रिमियरपछि प्रतिक्रिया दिँदै प्रधानमन्त्री सुरेन्द्र कार्कीले उज्ज्वल थापालाई प्रेरणादायी व्यक्तित्वको रूपमा चित्रण गर्दै युवापुस्तामा नेतृत्व विकास र वैकल्पिक राजनीतिक सोचको बीजारोपणमा उनको योगदान महत्वपूर्ण रहेको बताए। सञ्चारमन्त्री जगदीश खरेलले ‘दिमाग घोचे मान्छे’ ले केवल दिमाग मात्र होइन, मन पनि घोच्ने वृत्तचित्र बनेको टिप्पणी गरे। गृहमन्त्री ओमप्रकाश अर्यालले उज्ज्वल थापा जस्ता व्यक्तित्वले देशलाई नयाँ राजनीतिक यात्रातर्फ अघि बढ्न प्रेरणा दिएको उल्लेख गरे।

आज पुष २५ गतेदेखि ‘दिमाग घोचे मान्छे’ वृत्तचित्र देशभरका विभिन्न चलचित्र हलहरूमा नियमित प्रदर्शनमा आएको छ।

फेसबुकबाट तपाइको प्रतिक्रिया