शिरो फिल्मस्को प्रस्तुतिमा तयार भएको चलचित्र ‘रमिताको पिरती’ माघ २३ गतेदेखि देशभर रिलिज हुने तयारीमा छ । प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्मको दोस्रो गीत ‘जुनी भर’ सार्वजनिक गरिएको छ । गीत बुढासुब्बा डिजिटलको युट्युब च्यानलमार्फत रिलिज गरिएको हो ।
सार्वजनिक गीतमा महेश काफ्लेको शब्द, संगीत र स्वर रहेको छ भने उनलाई अस्मिता अधिकारीले स्वरमा साथ दिएकी छिन् । रोमान्टिक शैलीको गीतले प्रेमका भावनात्मक पक्षलाई मिठासपूर्ण ढंगले प्रस्तुत गरेको छ ।
गीतको भिडियोमा फिल्मका मुख्य कलाकार आना शर्मा र विनय श्रेष्ठ देखिएका छन् । भिडियोमा विनयले आनालाई प्रेमपूर्वक फकाउने प्रयास गरेको र आनाले सहजै स्वीकार नगरेको दृश्य प्रस्तुत गरिएको छ । यसलाई फिल्मभित्र विनय र आनाको प्रेमकथाको सुरुवात को संकेतका रूपमा बुझ्न सकिन्छ ।
फिल्ममा समीर श्रेष्ठ, गियाना, गौमाया गुरुङ, पशुपति राई, रेनु योगी र थिन्ले लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।
चलचित्रमा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेल का गीत–संगीत समावेश छन् । सुदिप्ताको लेखन तथा निर्देशनमा तयार भएको फिल्मका निर्माता सागर लम्साल हुन् ।
आरपी प्रोडक्सन, गणेश पाण्डे, सुवास कोइराला र प्रवेश लामिछाने एसोसियट निर्माता रहेको फिल्ममा आना शर्मा र सन्तोष लम्साल कार्यकारी निर्माताका रूपमा रहेका छन् । चलचित्रको डीओपी शिशिर बिशाङ्खे, ट्रेलर तथा टिजर साहिल खान ले तयार गरेका हुन् ।
सार्वजनिक गीतको भिडियोमा झोलेइज्म, जेनिश महर्जन र प्रयत्न को छायांकन, झोलेइज्मको सम्पादन तथा कृतिका बरालको कोरियोग्राफी रहेको छ । फिल्मको सम्पादन सुनिल शिवभक्ति ले गरेका छन् ।
निर्माणपक्षका अनुसार ‘रमिताको पिरती’ ले एक युवतीको प्रेम, भावना र भित्री संघर्षलाई सूक्ष्म र संवेदनशील रूपमा पर्दामा उतार्ने प्रयास गरेको छ ।



‘रमिताको पिरती’को दोस्रो गीत ‘जुनी भर’ सार्वजनिक, आना–विनयको प्रेम यात्राको सुरुवात
फेसबुकबाट तपाइको प्रतिक्रिया