‘ककाकिकी’को भव्य प्रिमियर सम्पन्न, चलचित्रकर्मीले गरे प्रशंसा, सेन्सरबाट पायो युनिभर्सल सर्टिफिकेट

नेपाली हास्यप्रधान चलचित्र ‘ककाकिकी’को भव्य प्रिमियर सम्पन्न भएको छ। मंगलबार साँझ काठमाडौंको सिटी सेन्टरस्थित बिग मुभिजमा आयोजित प्रिमियरमा चलचित्रका कलाकार तथा निर्माण टिमसँगै नेपाली चलचित्र क्षेत्रका थुप्रै चर्चित कलाकार, निर्देशक, निर्माता र चलचित्रकर्मीको उपस्थिति थियो।

प्रिमियरमा चलचित्र हेरिसकेपछि अधिकांशले यसको प्रस्तुतीकरण, कथावस्तु र मनोरञ्जनात्मक पक्षको प्रशंसा गरेका थिए। विशेषगरी निर्देशकद्वय बिक्की अग्रवाल र श्रद्धा प्रसाईंले चलचित्रमा प्रस्तुत गरेको फरकपन र मेहनतको तारिफ भएको थियो।

कमेडी जनरामा निर्माण भएको चलचित्र हेर्दा हलमा दर्शकको हाँसोका फोहोरा छुटेका थिए। चलचित्रका विभिन्न दृश्यमा उपस्थित चलचित्रकर्मी समेत हाँसेर रमाएका थिए। चलचित्रकर्मीहरूले कथालाई प्रस्तुत गरिएको शैली र कलाकारहरूको अभिनयलाई रुचाउँदै चलचित्रले दर्शकको मन जित्ने विश्वास व्यक्त गरेका थिए।

प्रिमियरमा सहभागी वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, शिव श्रेष्ठ, बसुन्धरा भुसाल, चैत्यदेवी, राजाराम पौडेल, किरण केसी, निर्देशक तथा निर्माता मिलन चाम्स, आकाश अधिकारी, अशोक शर्मा, शोभित बस्नेत, कलाकार जयकिशन बस्नेत, विल्सन विक्रम राई तथा गायक शिव परियारलगायतले चलचित्रप्रति सकारात्मक प्रतिक्रिया दिएका थिए।

निर्देशक बिक्की अग्रवालले चलचित्रकर्मीबाट प्राप्त प्रतिक्रियाले आफूहरूलाई खुसी मिलेको बताए। आफ्नो टिमले चलचित्र निर्माणमा निकै मेहनत गरेको उल्लेख गर्दै उनले अब चलचित्र दर्शकको हातमा सुम्पिने समय आएको बताए। आउँदो शुक्रबारदेखि प्रदर्शनमा आउने चलचित्रलाई दर्शकले दिने प्रतिक्रियालाई आफूहरूले सहर्ष स्वीकार गर्ने उनको भनाइ थियो।

त्यस्तै, चलचित्रका कलाकार तृप्ति नाडकर, गौरी मल्ल, रेखा थापा र महेश त्रिपाठीलगायतले पनि प्रिमियरमा चलचित्रकर्मीबाट प्राप्त प्रतिक्रियाले उत्साहित बनाएको बताए। अब आफूहरू दर्शकको प्रतिक्रियाको प्रतीक्षामा रहेको उनीहरूको भनाइ थियो।

सेन्सर बोर्डबाट पायो युनिभर्सल सर्टिफिकेट

चलचित्र ‘ककाकिकी’लाई केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले युनिभर्सल सर्टिफिकेट प्रदान गरेको छ। योसँगै अब चलचित्र सबै उमेर समूहका दर्शकले हेर्न पाउने भएका छन्। हास्यप्रधान विषयवस्तुमा निर्माण भएको चलचित्रलाई परिवारका सबै सदस्यले एकसाथ बसेर हेर्न सक्नेछन्।

को–को छन् चलचित्रमा ?

चलचित्रमा तृप्ति नाडकर, गौरी मल्ल, रेखा थापा, महेश त्रिपाठी, शिशिर वाङ्देल, दिया मास्के, मनोज गजुरेल, प्रकाश घिमिरे, माउत्से गुरुङ, सुवास गजुरेल, रेअर राई, खड्गबहादुर पुन मगर (खबपु), पवन खतिवडा (म्याकुरी), मुकुन्द मैनाली, रामबाबु रेग्मी, सीडी विजय अधिकारी, सरोज भण्डारी, सुजना श्रेष्ठ, विश्वास तिमल्सिना (बीटी कान्छा), एलिसा भोग, सुवर्ण थापा र कमल देवकोटालगायत कलाकारको अभिनय रहेको छ।

बिक्की अग्रवाल र श्रद्धा प्रसाईंको निर्देशनमा बनेको चलचित्रका निर्माता श्रद्धा प्रसाईं र सुमित्रा थापा हुन्। चलचित्रको कन्सेप्ट सुमन अग्रवालको हो भने कथा तथा पटकथा बिक्की अग्रवाल, विकास अर्याल र सरोज भण्डारीले लेखेका हुन्। विश्वास तिमल्सिना (बीटी कान्छा)ले स्क्रिप्ट डक्टरको जिम्मेवारी सम्हालेका छन्।

चलचित्रको छायांकन सुदीप बरालले गरेका हुन्। मुख्य सहायक निर्देशक अनिश बुढाथोकी र सहायक निर्देशक विशाल राई हुन्। मेकअपमा अनिश तामाङ, कस्ट्युम डिजाइनमा सुमन परियार र प्रोडक्सन हेडमा अरुण रेग्मी रहेका छन्।

चलचित्रको डिजिटल अधिकार ओएसआर डिजिटलसँग रहेको छ ।‘ककाकिकी’ आउँदो शुक्रबार अर्थात् मंसिर ११ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउँदैछ।

फेसबुकबाट तपाइको प्रतिक्रिया