काठमाडौं । गत सातादेखि नेपालसहित विश्वभर एकसाथ प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘बाटुलो जून’मा समावेश रोमान्टिक गीत ‘पानी पर्यो’ सार्वजनिक भएको छ। चलचित्र प्रदर्शनमा आएको एक सातापछि निर्माण टिमले गीतको भिडियो युट्युबमार्फत सार्वजनिक गरेको हो।
सार्वजनिक गीतमा दुई पुस्ताको प्रेमकथालाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ। अभिनेता अनमोल केसी र अभिनेत्री प्रिन्सी खतिवडाले नयाँ पुस्ताको प्रेमभाव अभिव्यक्त गरेका छन् भने अभिनेता भुवन केसी र अभिनेत्री गरिमा पन्तको जोडीले अधबैंसे उमेरको प्रेमलाई पर्दामा उतारेको छ।
लामो समयपछि अभिनेता भुवन केसीलाई पुनः रोमान्टिक अवतारमा देख्न पाउँदा गीत थप विशेष बनेको छ। नेपाली चलचित्र क्षेत्रमा सदाबहार रोमान्टिक अभिनेताको छवि बनाएका भुवन नेपाली म्युजिक भिडियो इतिहासका पहिलो मोडलका रूपमा समेत परिचित छन्।
निर्माण टिमले ‘पानी पर्यो’ गीतलाई चलचित्रको कथालाई पूर्णता दिने महत्त्वपूर्ण प्रस्तुतिका रूपमा लिएको छ। निर्देशकसमेत रहेका भुवन केसीले गीतलाई उत्कृष्ट प्रस्तुतिमध्ये एक भन्दै स्वादिष्ट भोजनपछिको मिठासिलो परिकार (डेजर्ट)सँग तुलना गरेका छन्।
सनराइज पिक्चर्स प्रालि र भविष्य फिल्मस्को ब्यानरमा निर्मित चलचित्रलाई जिया केसी र भविष्य खड्काले निर्माण गरेका हुन्। चलचित्रमा अनमोल केसी, प्रिन्सी खतिवडा, भुवन केसी र गरिमा पन्तसँगै नेन्सी खड्का, प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमिल्सिना, लक्ष्मी गिरी, दीपक केसी, रेअर राई, श्वेता मिश्र, सुजन भाई, सविन कट्टेल, सिद्धार्थ सिंह, अमितेश शाह, हीना नगरकोटी र संगी अधिकारी पोखरेललगायत कलाकारको अभिनय रहेको छ।
विवेक थापा सहनिर्माता रहेको चलचित्रको सम्पादन कृष्ण भण्डारीले गरेका छन्। चलचित्रको लेखनमा सामीप्यराज तिमल्सेना र सरिन पोखरेलले सहकार्य गरेका छन् भने पार्श्व संगीत रोमन बज्राचार्यको रहेको छ। प्रदीप श्रेष्ठले एसोसिएट निर्देशकको जिम्मेवारी सम्हालेका छन्।



‘बाटुलो जून’को रोमान्टिक गीत ‘पानी पर्यो’ सार्वजनिक, भुवन र गरिमाको प्रेमले तान्यो ध्यान
फेसबुकबाट तपाइको प्रतिक्रिया