प्रदीप खड्का र पल शाह एउटै फिल्ममा, सिम्रन पन्त र जुना विश्वकर्मा पनि मुख्य भूमिकामा

काठमाडौं । नेपाली चलचित्रका दुई चर्चित नायक प्रदीप खड्का र पल शाह पहिलोपटक एउटै पर्दामा देखिने भएका छन् । निर्देशक कृषा चौलागाईंको निर्देशनमा बन्न लागेको नयाँ फिल्ममा यी दुई अभिनेताले एकसाथ अभिनय गर्न लागेका हुन् ।

फिल्ममा प्रदीप र पलसँगै ब्युटिफुल राइजिङ स्टार सिम्रन पन्त पनि देखिनेछिन् । यसै फिल्ममार्फत जुना विश्वकर्माले चलचित्र क्षेत्रमा डेब्यु गर्ने भएकी छन् ।

निर्माण पक्षका अनुसार फिल्मको छायांकन आगामी मंसिरबाट म्याग्दीका रमणीय स्थानमा सुरु हुनेछ । फिल्मको केही भाग भने काभ्रेको बनेपामा छायांकन गरिनेछ ।

फिल्ममा प्रदीप खड्का, पल शाह, सिम्रन पन्त र जुना विश्वकर्माका साथै लक्ष्मी गिरी, राजाराम पौडेल, लक्ष्मीनाथ तिमल्सिना र सुरज तमुलगायत कलाकारको अभिनय रहनेछ ।

फिल्मको कथा तथा संवाद अभिमन्यु निरविले लेखेका हुन् । पुरुषोत्तम प्रधानले छायांकन गर्ने फिल्मका निर्माता विशाल चौलागाईं हुन् । सविन ढुंगाना फाइनान्स म्यानेजर र रविन बख्रेल प्रोडक्सन म्यानेजरका रूपमा रहनेछन् ।

फिल्ममा सुरेश अधिकारी, राजनराज सिवाकोटी र हर्क साउदको संगीत रहनेछ भने वसन्त अधिकारी मुख्य सहायक निर्देशकका रूपमा रहनेछन् ।

आरआर फिल्म्सले वितरण गर्ने फिल्मका वितरक रोहित कट्टेल र रत्न श्रेष्ठ हुन् । फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको निर्देशक चौलागाईंले जानकारी दिएकी छन् ।

आगामी नयाँ वर्षदेखि प्रदर्शनमा ल्याउने लक्ष्य राखिएको यस फिल्ममा प्रदीप खड्का र पल शाहको सहकार्यलाई दर्शकले विशेष चासोका साथ हेर्ने अपेक्षा गरिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया