प्रसिद्ध भारतीय गायिका कल्पना पटवारीको छठ गीत ‘करीले परबिया’ सार्वजनिक गरिएको छ । आउँदो छठपर्वलाई लक्षित गर्दै तयार गरिएको भोजपुरी भाषाको छठ गीतमा मधेश प्रदेशका कलाकार र जनकपुरधामका धार्मिक स्थलहरू देख्न सकिन्छ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको प्रमुख आतिथ्यतामा मंगलवार बेलुकी सार्वजनिक गरिएको गीतलाई फिल्म निर्मात्री तथा समाजसेवी शर्मिला थापाले निर्माण गरेकी हुन् ।
उडान इन्टरटेन्मेन्टको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीत हेरेपछि आयोजित कार्यक्रममा मुख्यमन्त्री यादवले गीत र कलाकारहरूको प्रशंसा गरे । उनले मधेश प्रदेशमा यस स्तरको सम्भवतः पहिलो पटक यस्तो गीत निर्माण भएकोमा गर्व महसुस भएको बताए । साथै, उनले आगामी दिनमा निर्माता र सम्पूर्ण टिमलाई थप ऊर्जाका साथ यसै प्रकारका गीत–संगीत र चलचित्रहरू पनि निर्माण गर्न आग्रह गरे । उनले मधेश प्रदेश सरकार कलाकार र धर्म–संस्कृति प्रवद्र्धनका लागि सदैव साथ रहने प्रतिबद्धता व्यक्त गरे ।
सार्वजनिक गीतमा शिव साजनको शब्द तथा संगीत, शिशिर पाण्डेको संगीत संयोजन र अनिल बागीको मिक्सिङ तथा मास्टरिङ रहेको छ । सार्वजनिक गीतमा छठपर्व मनाउँदा श्रदालुले अपनाउने विधी, गर्ने पुजापाठलाई गीतको भिडिओमा प्रस्तुत गरिएको छ । जनकपुरधामको प्रसिद्ध जानकी मन्दिर, राजदेवी मन्दिर र ऐतिहासिक गंगासागर सरोवरमा छायांकन गरिएको छठी माताको यो गीतमा मधेश प्रदेशका कलाकारहरूले अभिनय गरेका छन् । यस गीतले मैथिली संस्कृति र छठी माताको महिमालाई उजागर गरेको छ ।
गीतको भिडिओमा शर्मिला थापा, निभा यादव, इन्जिनियर सिमरन साह, अमृता साह र सिमरन सोनीको अभिनय छ । कमलेश सिंह (काम ली)ले निर्देशन गरेको भिडिओ उडान प्रोडक्सन्सले निर्माण गरेको हो।
कार्यक्रममा उडान इन्टरटेनमेन्टका सञ्चालक एवं गीतकी मुख्य पात्र शर्मिला थापाले मिथिलाको धर्म, संस्कृति र परम्परालाई उजागर गर्न आफू सदैव लागिपरिरहने बताइन् । ‘सामाजिक सद्भाव र उत्तरदायित्व निर्वाह गर्न सबै धर्म र सबै चाडपर्वको सम्मान गर्नुपर्छ । यी कामहरूले मिथिलाको संस्कृति र यसको सभ्यतासँगै यहाँको परम्परालाई गीतसङ्गीत, चलचित्रको माध्यमले अगाडि ल्याउँछ भन्नेमा कोसिसमा छु । आगामी दिनमा पनि यस्तै कामहरू गर्ने छु’, उनले भनिन् ।
निर्मात्री थापाले अबको केही दिनपछि आफूहरूले निर्माण गरेको छोरीहरूप्रति समर्पित ‘मायाजाल’ नामक चलचित्र रिलिज हुने जानकारी पनि दिइन् । उनले निर्माण गरेको नेपाली फिल्म ‘आशा’ आगामी माघेसंक्रान्तिमा प्रदर्शन हुँदैछ । भिडियोको छायांकन साजन ठाकुरले गरेका हु न्। ड्रोन सञ्चालन सञ्जय कुशवाहाले गरेका छन् ।
गायिका कल्पना पटवारीले गाएका गीतहरू ‘बिल्लु भयङ्कर’, ‘तेरे लाई’, ‘उचा लम्बा कद’, ‘इश्कसे मिठा’, ‘शकिरा’, ‘एैला रे एैला’, ‘गन्दी बात’ लगायत हिट छन् । उनी भारतीय फिल्मका साथै भोजपुरी, मराठी, बंगाली भाषाका गीतहरूमा आवाज दिने गर्छिन् । पछिल्लो समय उनी धार्मिक गीतहरू गाउने गरेकी छिन् ।




शर्मिलाले ल्याइन छठ गीतमा ‘करीले परबिया’ , कल्पना पटवारीले दिईन् स्वर
फेसबुकबाट तपाइको प्रतिक्रिया