‘मोहर’को ‘झुम झुम झुम्किका’मा नाँचे पल र बेनिशा

साउनको २३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मोहर’को दोस्रो गीत ‘झुम झुम झुम्किका’ सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंको जोसेफ स्कुल र कलेजसँग ‘इजुकेशन टाइ अप’ गर्दै गीत रिलिज गरिएको हो । जोसेफ स्कुलबाट एसइइ पास भएका विद्यार्थीहरुको सम्मानमा आयोजित कार्यक्रममा पाँच सय बढी विद्यार्थी र अभिभावकहरुको उपस्थितीमा गीत सार्वजनिक गरियो ।

सार्वजनिक गरिएको यो गीतमा एसडी योगी र विज्ञानी पराजुलीको स्वर, हर्क साउदको शब्द, एसडी योगीको संगीत छ । सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य नायक पल शाह र नायिका बेनिशा हमाललाई फिचरिङ गरिएको छ । गीतको भिडियोमा यी दुई कलाकार छमछमी नाचेका छन् । गीतको भिडियोमा पलको इनर्जी गज्जब देखिएको छ । भिडियोमा दुइको नोकझोक पनि देखिन्छ । यसले, फिल्म भित्र पल र बेनिशाको केमेष्ट्री कस्तो छ भन्ने पनि देखाएको छ ।

यसअघि सार्वजनिक फिल्मको शिर्ष गीतमा नायक पल शाह र नायिका नीति शाहको जोडीलाई देखाइएको थियो ।

यो गीतको भिडियोमा भने पलले लामो कपाल पालेका छन् । गीतमा फिल्मकी मुख्य कलाकार मिथिला शर्मा, बाल–कलाकार सारा शर्मालाई पनि देख्न सकिन्छ । फिल्म मेकर्स प्रा.लिको व्यारनमा निर्माण भएको फिल्मका निर्माता चुम्बन जंग शाही हुन् । फिल्ममा अर्जुन जंग शाही, रवीन्द्र झा, लक्ष्मी गिरीको पनि मुख्य भूमिका छ । फिल्ममा कुमार महर्जनको एक्सन, दिपेन बस्न्यातको छायांकन, सुरेश अधिकारी, एसडी योगी र थानेश्वर गौतमको संगीत छ ।

फिल्मको टिजरले दर्शकहरुको उत्कृष्ट प्रतिक्रिया पाइसकेको छ । देउकी प्रथाको कथामा तयार भएको यो फिल्ममा गिरिराज घिमिरेको मुख्य सहायक निर्देशन छ । लक्ष्मण राज पौडेल निर्माण नियन्त्रक रहेको यो फिल्मको सार्वजनिक गीतमा कविराज गहतराजको कोरियोग्राफी छ ।
नायक पल शाह र नायिका वेनिशा हमालले गीत सार्वजनिक कार्यक्रममा मिडियासँग कुरा गर्दै फिल्म निकै राम्रो बनेको प्रतिक्रिया दिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया