‘जारी : २ – सङ अफ च्याब्रुङ’को ट्रेलर सार्वजनिक, दयाहाङ राई फेरि च्याब्रुङ बाधकको भूमिकामा

कार्तिक २१ गते रिलिज हुने फिल्म ‘जारी : २ – सङ अफ च्याब्रुङ’ को ट्रेलर सार्वजनिक गरिएको छ।

तीन मिनेट ५२ सेकेन्ड लामो ट्रेलरमा अभिनेता दयाहाङ राई लाई पुनः च्याब्रुङ बाधकको रुपमा प्रस्तुत गरिएको छ। यस पटक फिल्मले दया र मिरुना मगरबीच छोरीको जन्मपछि देखिएको वैवाहिक फाटोलाई मुख्य कथाका रुपमा अघि बढाएको देखिन्छ।

ट्रेलरमा विजय बरालको वैवाहिक सेरोफेरो र डार्क ह्युमरले पनि दर्शकको ध्यान तान्ने संकेत दिएको छ। दया, मिरुना र विजयको त्रिकोणीय कथा, हाँसो र भावनाको मिश्रणले फिल्मलाई अझ रोमाञ्चक बनाउने अनुमान गरिएको छ।

‘जारी : २’ उपेन्द्र सुब्बाले लेखन तथा निर्देशन गरेका हुन्। फिल्मका निर्माता रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङ हुन्।

फिल्ममा मुख्य कलाकारका रूपमा दयाहाङ राई, मिरुना मगर र विजय बरालका साथसाथै बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहेको छ।

बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्मलाई यस वर्षको सर्वाधिक प्रतिक्षित चलचित्र मानिएको छ।

स्मरण रहोस्, यसको पहिलो श्रृंखला ‘जारी’ (२०८०) ले नेपाली बक्स अफिसमा १७ करोड रुपैयाँभन्दा बढीको व्यापार गर्दै वर्षको ब्लकबस्टर बनेको थियो। त्यसैले ‘जारी : २’ ले पनि सो व्यापारिक सफलता दोहोर्याउने उच्च अपेक्षा गरिएको छ।

फेसबुकबाट तपाइको प्रतिक्रिया