‘मन बिनाको धन’ को नयाँ पोस्टर सार्वजनिक, अशोक दर्जी सहित ठूला कलाकारको उपस्थिति

 निर्देशक टंक बुढाथोकीले शुक्रबार बिहान आफ्नो नयाँ चलचित्र ‘मन बिनाको धन’ को नयाँ पोस्टर सार्वजनिक गरेका छन्। सार्वजनिक पोस्टरमा मुख्य कलाकारहरू अशोक दर्जी, सरोज खनाल, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्दि तामाङ र रवीन्द्र झा देख्न सकिन्छ। यसअघि सार्वजनिक पोस्टरमा भने अशोक दर्जीलाई मात्र प्रस्तुत गरिएको थियो।

टंक बुढाथोकीको निर्माण तथा निर्देशनमा तयार यो चलचित्र सामाजिक विषयवस्तुमा आधारित छ। कथा बुढाथोकी स्वयंले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले लेखेका छन्।

आगामी कात्तिक २१ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्रमा बिष्णु माया मैनाली निर्माता रहेकी छिन् भने सपना शर्मा कार्यकारी निर्माताका रूपमा छिन्। यस्तै जीपी संग्रोला, विवेक नेपाल र बिजया पाण्डे सह–निर्माताका रूपमा रहेका छन्।

अशोक दर्जीले आफ्नो पहिलो गीत ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ मार्फत चर्चामा आएका थिए। सोही गीतका संगीतकार टंक बुढाथोकी हुन्। हाल दर्जी काठमाडौंमा कक्षा ९ मा अध्ययनरत छन्।

चलचित्रमा अशोक दर्जीसँगै सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्दि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी, आर्यन पोखरेल र विजय डंगोललगायतका कलाकारको अभिनय देख्न सकिनेछ।

फिल्ममा टंक बुढाथोकीको संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, मित्र डी. गुरुङको सम्पादन तथा नवराज शर्माको मुख्य सहायक निर्देशन रहेको छ। चलचित्रलाई एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन्।

फेसबुकबाट तपाइको प्रतिक्रिया