
छायाँकनको तयारीमा रहेको चलचित्र ‘महाराजधिराज’ बाट प्रमुख कलाकार पल शाह अचानक बाहिरिएका छन् । उनीसँग भएको करिब आठ महिनाअघि भएको सम्झौता आजबाट तोडिएको घोषणा निर्माण पक्षले गरेको छ ।
चलचित्रको निर्माण कम्पनी छत्रेश्वरी म्यानेजमेन्टका तर्फबाट बिराज बिष्टले आज एक स्टेटमेन्ट जारी गर्दै सो घोषणा गरेका हुन् । उनले दुवै पक्षको आपसी सहमतिमा सम्झौताको औपचारिक अन्त्य भएको बताएका छन् ।
‘यस सम्झौताको अन्त्यसँगै, अब उप्रान्त यस विषयलाई लिएर दुवै पक्षबाट कुनै पनि प्रकारको कुराकानी हुने वा गरिने छैन,’ बिष्टले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तेस्रो पक्षबाट आउने ‘कहाँ’, ‘किन’, ‘कसरी’, ‘कसले’ जस्ता प्रश्नहरूको विषयमा दुवै पक्षले कुनै पनि उत्तर दिने छैनौं ।’
यदि कुनै पक्षबाट यो बिषयलाई उचालेर कुनै आर्थिक वा सामाजिक हानि–नोक्सानी हुन गएमा सोको जिम्मेवारी सम्बन्धित पक्षले बेहोर्नेछ कबुल गरिएको पनि उनले बताएका छन् ।
महाराजधिराजका लागि छत्रेश्वरी म्यानेजमेन्टले पल शाहलाई गत वर्ष कात्तिक १४ गते ‘महाराजधिराज’ मा अनुवन्धित गरेको थियो । चलचित्रमा पलको फरक खालको लुक्स पनि सार्वजनिक भएको थियो, जसले राम्रै चर्चा पनि पायो । यद्यपि, चलचित्रको छायांकन भने अझै सुरु हुन सकेको थिएन ।
पछिल्लो पटक फेरि चलचित्रमा कलाकारहरु थपिँदै गएका छन् । आज मात्रै उषा रजकलाई अनुवन्धित गरिएको छ । यसअघि आर्यन सिग्देल, रमेश उप्रेति, वर्षा शिवाकोटी, वर्षा राउत, पुष्प खड्का लगायत कलाकार फाइनल भइसकेका छन् । उषा रजकको इन्ट्रीसँगै चलचित्रमा प्रमुख कलाकारको लाइनअप पूरा भएको निर्माण पक्षले बताएको छ ।
चलचित्र चाँडै नै छायांकनमा जाने तयारी गरिएको बेला पल बाहिरिएका हुन् । उनको स्थानमा कसलाई खेलाउने भन्ने निश्चित नभइसकेको निर्माण स्रोतले बतायो । यो चलचित्र आगामी फुलपातिमा रिलिज गर्ने बताइएको छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया