गायक विष्णु खत्रीले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानबाट बाहिरिएको घोषणा गरेका छन् ।
सामाजिक सञ्जालमा वक्तव्य जारी गर्दै उनले आफूले खोल्न लागेको नयाँ संस्थामा हातेमालोका लागि आउन आह्वान समेत गरेका छन् ।प्रतिष्ठानको आसन्न महाअधिवेशन र कार्यशैलीप्रति असन्तुष्ट जनाउँदै नयाँ संस्था खोल्न लागेको चर्चाबीच पूर्वमहासचिव समेत रहेका खत्रीले संस्थामा नरहेको औपचारिक घोषणा गरेका हुन् ।
‘अब कहिल्यै प्रतिष्ठानको ढोका ढकढकाउन नआउने निर्णय गरी आजैको मितिबाट सांगठनिक र भावनात्मक रुपले यस संस्थाको यात्रामा पूर्णबिराम लगाएको कुरा दुःखका साथ अवगत गराउन चाहन्छु,’ खत्रीले लेखेका छन्, ‘कलाकारको हकहितको मुद्दा र संस्कृति जगेनार्थ कतै भेटिने अवसर मिल्यो भने सँगै सहयात्रीको रुपमा रहनेछु भन्ने कुरा पनि जानकारी गराउन चाहन्छु ।’आफूभन्दा जुनियर भाइबहिनीसँग चुनावमा प्रतिस्पर्धा गर्न शोभनीय नहुने र नैतिकताले पनि उचित नहुने उनको तर्क छ । संस्कृतिकर्मीलाई समेटेर आफूहरुले नयाँ संस्था खोल्न लागेको जानकारी दिंदै उनले यसमा समाहित हुन आग्रह समेत गरेका छन् ।
‘कलाकारिता र संस्कृतिलाई शिरमा राख्ने संस्कृतिकर्मीलाई हामीले तय गर्न लागेको नयाँ यात्रामा हजुरमा अन्तरनिहित रहेको प्रतिभा, क्षमता, दक्षता, विज्ञता र अनुभवसहित हातेमालो गर्न आउनुहुन हार्दिक अपील गर्दै स्वागत गर्न चाहन्छौं,’ उनले भनेका छन् ।



संस्थाबाट बाहिरिएको विष्णु खत्रीको घोषणा लोकदोहोरी प्रतिष्ठानमा विवाद चर्कियो
फेसबुकबाट तपाइको प्रतिक्रिया