फिल्म ‘महादशामा’ पूजा शर्मा अनुबन्धित

तिहारको लक्ष्मीपूजाको अवसरमा अभिनेत्री पूजा शर्मा नयाँ फिल्म ‘महादशा’ मा अनुबन्धित भएकी छन्। उनलाई निर्माण टिमले फिल्मको मुख्य अभिनेत्रीका रूपमा अनुबन्ध गरेको हो।

सोमबार औपचारिक रूपमा फिल्ममा अनुबन्ध भएकी शर्माले यो अवसरमा आफू ‘महादशा’सँग जोडिन पाउँदा निकै खुशी लागेको बताइन्।

निर्माता किरण नेपालीको निर्देशनमा डेब्यु हुने यस फिल्ममा यसअघि निरुता सिंह, उत्तम प्रधान, हिपहप कलाकार हाकिम गुरुङ, प्रमोद अग्रहरि र प्रेमा लामगाढे अनुबन्ध भइसकेका छन्। साथै अन्य कलाकारमा बिनोद न्यौपाने, रियर राई, प्रभात लामा, रामचन्द्र अधिकारी, कमल देबकोटा, पुस्कर भट्ट, दिनेस काफ्ले, रन्जन कोइराला, युबिक राज शाह, स्मृति कल्मर र एलिज पुन रहेका छन्।

निरुता सिंह र उत्तम प्रधान कालजयी फिल्म ‘दर्पणछाया’ का लोकप्रिय जोडी हुन्। अब उनीहरूका साथमा पूजा शर्माको दमदार अभिनय पनि दर्शकले ‘महादशा’मा हेर्न पाउने भएका छन्। पछिल्लो समय पूजा नेपाली चलचित्र क्षेत्रमा निरन्तर सक्रिय र चर्चित अभिनेत्रीका रूपमा स्थापित भएकी छिन्।

निर्देशक किरण नेपालीका अनुसार, फिल्मले समाजका विविध पक्ष र जीवनका चुनौतीपूर्ण परिस्थितिहरूलाई कथाका माध्यमबाट प्रस्तुत गर्नेछ।

लेकाली इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने यो फिल्ममा मनिष गौतमको पटकथा रहनेछ भने राजेन्द्र शाह, श्याम मगर र अमलादेवी राई निर्माताको भूमिकामा छन्। लामो समयदेखि प्राविधिक र निर्माण पक्षमा सक्रिय सुरज आचार्य यसमा कार्यकारी निर्माताका रूपमा जोडिँदै छन्।

फेसबुकबाट तपाइको प्रतिक्रिया