दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’: प्रतिष्ठा, इज्जत र वरिष्ठताको मनोवैज्ञानिक संघर्षको कथा

अभिनेता दयाहाङ राईले नयाँ चलचित्र ‘वरिष्ठ बलराम’ स्थापित र उदाउँदो व्यक्तिबीचको संघर्षको कथा भएको बताएका छन्।

उनका अनुसार, चलचित्रमा आफ्नो इज्जत र प्रतिष्ठा बचाइराख्न खोज्ने स्थापित पात्र र त्यसलाई टक्कर दिँदै आफूलाई स्थापित बनाउन खोज्ने उदाउँदो पात्रबीचको मनोवैज्ञानिक तथा सामाजिक द्वन्द्व देखाइएको छ।

दयाहाङले चलचित्रमा ‘स्थापित’ व्यक्तिको भूमिका निभाएका छन् भने उनलाई चुनौती दिने पात्रका रूपमा विजय बराल देखिएका छन्। “मान्छे जस्तोसुकै होस्, आवरणमा भने वरिष्ठ र प्रतिष्ठित हुन चाहन्छ। यो मानवीय स्वभाव हो, र यही कुरा चलचित्रमा देखाइएको छ,” दयाहाङले भने।

त्यसैगरी अभिनेता विजय बरालले ‘वरिष्ठ बलराम’ सामान्य व्यक्ति बाट वरिष्ठ बन्ने चाहनाको कथा भएको बताए। “सिनेमामा सोच र चाहनाबीचको टकराब नै मुख्य विषय हो,” उनले भने। चलचित्रमा उनी ‘बले’ नामक पात्रको भूमिकामा छन्। “बलराम को हो भन्ने कुरा ट्रेलर वा रिलिजपछि खुल्नेछ,” उनले थपे।

बरालका अनुसार, वरिष्ठ कलाकार दयाहाङसँग टकराबपूर्ण दृश्यहरू खिच्दा आफूलाई केही अड्चन महसुस भएको थियो। “दाइ अग्रज भएकाले सुरुमा हिचकिचाहट थियो, तर उहाँले सहज बनाइदिनुभयो,” उनले भने।

दयाहाङले पनि सेटमा सिनियर–जुनियर होइन, चरित्र मात्र हुने बताएका छन्। उनले ‘दासढुंगा’फिल्ममा अनुप बरालसँग गरेको अभिनयको स्मरण गर्दै भने, “चरित्रभन्दा माथि जानु हुँदैन, चरित्र निभाउँदा हिचकिचाउनु हुँदैन।”

नायिका समृद्धि अर्यालले आफू चलचित्रमा ‘शो पिस’ मात्र नभएको बताइन्। “मेरो पात्र दुई लिड क्यारेक्टरबीच प्रभाव पार्ने खालको छ,” उनले भनिन्। “यो भूमिकाले मेरो करियरलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास छ।”

सुरेन्द्र पौडेल निर्देशित ‘वरिष्ठ बलराम’ आगामी कात्तिक ६ गते भाइटीकाको दिन रिलिज हुँदैछ।

चलचित्रमा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारहरूको अभिनय छ।

निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका हुन्। वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्म्सको सहकार्यमा बनेको चलचित्रका निर्माता आशिष एच तामाङ र श्रीराज कार्की हुन्।

मनकृष्ण महर्जनको छायांकन, प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन र प्रदीप लामाको नृत्य निर्देशन रहेको *‘वरिष्ठ बलराम’*लाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ।

फेसबुकबाट तपाइको प्रतिक्रिया