गायक प्रकाश सपुतको प्रश्न: ‘यो जुनीमा म मान्छे मानिन्छु कि मानिन्न’ ?

जाजरकोटका कथित तल्लो जातका नवराज विकको निर्मम हत्याले सामाजिक सञ्जाल लगायत मिडिया तातेको छ । आफ्नी प्रेमिकासँग बिहे गर्न रुकुम चौरजहारी पुगेका उनको कथित माथिल्लो जातकी केटीसँग प्रेम गर्नु नै मृत्युको कारण बन्यो । उनी मात्र होइन उनलाई साथ दिनको लागि सँगै गएका चौरजहारीका टीकाराम सुनार र रानागाउँका गणेश बुढा मगरले पनि ज्यान गुमाउनु पर्‍यो ।

यस निन्दनीय कार्यको विरोध आम नेपाली देखी कलकार , सेलिब्रेटी सबैले गरिरहेका छन् । यसै विषयमा गायक प्रकाश सपुतले निकै गम्भीर र भावुक प्रश्न समाजलाई गरेका छन् । उनले सामाजिक सञ्जाल मा एक काव्यात्मक स्ट्याटस राख्दै समाज अनि स्वाभिमानलाई प्रश्न गरेका छन् ।

उनले देशको लागी ज्यान बाजी थाप्छु भनेर हिँडेको मान्छे जातीय विभेद अनि वर्गीय विभेद ठुलो पर्खाल नाघ्न नसकेर रोकिएको लेखेका छन् । उनी लेख्छन्, ‘नवराज तिमी सँगै हाम्रो आत्मसम्मानको पनि मृत्यु भएको छ । हार्दिक श्रद्धाञ्जली’! उनले समाजको यो बेथितिलाई अनि कथित राष्ट्रवादलाई प्रश्न गर्दै भनेका छन्, जातीय विभेद अनि वर्गीय विभेदको पर्खाल भत्काउँदा भत्काउँदै देशको सिमानामा पुग्न ढिलो भयो भने म राष्ट्रवादी मानिन्छु कि मानिन्न ? , म एक स्वाभिमानी नेपाली यो जुनीमा “मान्छे” मानिन्छु कि मानिन्न ?’

हेरौँ के लेखेका छन् गायक सपुतले :

सरकार !
खुकुरी उदाएर निस्किएकै हो !
जान्छु देशको सिमानामा र थापिन्छु !
कि काट्छु कि काटिन्छु भनेर !
तर रुकुम पुगेर रोकिए !
सरकार !
त्यहाँ त झन् कत्रो ठुलो पर्खाल रैछ नि ?
जातीय विभेदको !
वर्गीय विभेदको !
सिमाना भित्रैका यी पर्खालहरू भत्काउँदा भत्काउँदै
देशको सिमानामा पुग्न ढिलो भए भने
म राष्ट्रवादी मानिन्छु कि मानिन्न सरकार ?
देशभक्त मानिन्छु कि मानिन्न ?
सरकार !
उत्तर दिइहाल्नु भयो भने
यसको उत्तर पनि दिनु होला ।
म एक स्वाभिमानी नेपाली
यो जुनीमा “मान्छे” मानिन्छु कि मानिन्न ?

( नवराज तिमी सँगै हाम्रो आत्मसम्मानको पनि मृत्यु भएको छ ।
हार्दिक श्रद्धाञ्जली
दलित भएकै कारण ! प्रेम गरेकै कारण मर्नु पर्ने नियति देशकै लागि लज्जास्पद छ ! सारै दु:खद छ । “कुरी -कुरी समाज, कुरी कुरी कानुन !”

फेसबुकबाट तपाइको प्रतिक्रिया