वास्तविक तीज गीतको झल्को मेट्ने चेलीको वेदना समेटिएको “आमाले नदुखाए मन” (भिडियोसहित)

शोभा के.सी । हिन्दु महिलाहरूको महत्वपूर्ण पर्वका रूपमा रहेको हरितालिका तीजको अवसरमा विभिन्न गीतहरू सार्वजनिक हुने क्रम बढेको छ । यसैक्रममा लोकप्रिय संगीतकार तथा सर्जक श्रीकृष्ण बम मल्लको शब्द तथा संगीतमा रहेको नयाँ तीज गीत रिलिज भएको छ ।

जुन वास्तविक तीज गीत र चेलीको वेदनालाई समेटिएर तयार पारिएको छ । लोकप्रिय गायिका अन्जु पन्तको आवाजमा रहेको गीतमा कोरोना महामारीका क्रममा पछिल्लो समय हामीले भोगिरहेको विषम परिस्थितिलाई तथा प्राकृतिक प्रकोपले सिर्जित अवस्थाको मिहिन रूपमा प्रस्तुत गरिएको छ ।

सर्जक बमका अनुसार २०७२ सालको महाभुकम्पका बेला रेकर्ड गरिएको गीत अहिले कोरोनाले थलिएका बेला बजारमा ल्याइएको हो । पछिल्लो समय बजारमा आएका गीत तीज गीत हुन वा अन्य भनेर छुटाउनै नसकिरहेको बेला आएको यो गीतले वास्तवमा तीज गीतको झल्को मेटाएको छ । तीजमा चेलीले दुख वेदना पोख्ने चाडका रुपमा पनि चिनिन्छ ।

गीतको अडियोसंगै भिडियो पनि त्यतिकै आकर्षक अनि उत्कृष्ट बनेको छ। भिडियोमा करिश्मा ढकालको अभिनयले जोकोहीलाई सजिलै रुवाउन सक्छ । सधैं नाँच्ने, हाँस्ने गरेकी ढकालको यो अभिनयले धेरैलाई रुवाएको छ ।

गीतमा कोरोना संक्रमितलाई छुनपनि नपाईने, टाढै रहने दुखद अवस्थालाई उतारिएको छ । कोरोना लागेको मानिस क्वारेन्टाईनमै बसिरहदा घरपरिवारदेखि टाढै रहेको संक्रमित परिवारसंग भेट्नपनि नपाई ज्यान गुमाएको कथा बिशेषगरेर देखाईएको छ ।

यतिबेला देश कोरोनाबाट प्रभावित छ । गीतमा जस्तै अहिले कोरोना संक्रमितको अवस्थापनि उस्तै छ । कति ज्यान गुमाएका कोरोना संक्रमितले परिवारसंग भेट्नै पाएनन् ।

बागलुङका विभिन्न स्थानहरूमा छायांकन गरिएको उक्त भिडियोमा परिकल्पना तथा निर्देशन पनि श्रीकृष्ण बमकै रहेको छ। भिडियोलाई विनोद खड्काले खिचेका हुन् भने विकास ज्ञवालीले सम्पादन गरेका हुन् ।

भिडियो श्रीकृष्ण बम मल्लको अफिसियल युटुब च्यानलबाट रिलिज गरिएको हो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया