‘आजका नारीहरू सामाजिक वा कानुनी हिसाबले कमजोर छैनन्’: साम्राज्ञी

अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह यति बेला सामाजिक सञ्जालमा चर्चामा छिन् । अरु समयमा तस्बिर र अन्य व्यक्तिगत कुराको कारण चर्चामा आउने उनी यति बेला आफूले भोगेका कुरा बाहिरा ल्याउँदा चर्चामा मात्र आएकी छैनन् विवादित पनि भएकी छिन् । उनको अभिनेता भुवन केसीसँग भइरहेको टकराब फराकिलो बन्दै गइरहेको छ ।

उनले आफूले चलचित्रमा काम गर्ने क्रममा दुर्व्यवहार सहनु परेको र त्यस समय आफू बोल्न नसकेको कुरा सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि भुवन आक्रोशित भएका थिए । र आफूलाई निराधार आरोप लागेको भनी चलचित्र कलाकार सङ्घमा छानबिनको लागी निवेदन पनि दिएका थिए । साम्राज्ञीले यसरी हिम्मत गरेको आफूले भोगेको र नेपाली चलचित्रमा विद्यमान समस्या बाहिर ल्याएको भनी धेरैले समर्थन गरेका छन् । भने कहिले उनलाई अनेक लाञ्छना र आरोप समेत लगाएका छन् । यसरी एउटा महिला कलाकारले आफूले भोगेको समस्या बाहिर ल्याउँदा उसको चरित्र माथि नै प्रश्न उठाइएपछि साम्राज्ञीले आफ्नो विचार सार्वजनिक गरेकी छिन् ।

उनले सामाजिक सञ्जालमा लामो स्ट्याटस पोस्ट गर्दै यसबारे आफ्नो धारणा बाहिर ल्याएकी हुन् । भुवनले आफूलाई आरोप लगाएको र अझ यो क्रम नरोकिए कानुनी सहायता लिने धम्की दिएपछि साम्राज्ञीले पनि आफ्नो धारणा राखेकी हुन् । उनले के एउटा नव प्रवेशी कलाकारले आफ्ना सुरुको सङ्घर्षका दिनहरूमा भोग्नु पर्ने अदृश्य उत्पीडन,वास्तविक अप्ठ्याराहरू र आफूलाई मै हु भन्ने निर्मताहरुको हेपाहा प्रवृत्तिको र दुर्व्यवहार बारेमा अभिव्यक्त गर्न पाइन्न र ? भनी प्रश्न गरेकी छिन् ।

हेरौँ के लेखेकी छिन् उनले : 

जो जसलाई सम्बन्ध छ !
हालै नेपाली सिने जगतका एक वरिष्ठ कलाकार,निर्माता र निर्देशक ज्युले एक नव कलाकारले सामाजिक सञ्जालमा दिएका अभिव्यक्ति प्रति आपत्ति जनाएर आफूले पनि सामाजिक सञ्जालमा गर्नु भएको प्रतिक्रिया सन्दर्भमा !
के एउटा नव प्रवेशी कलाकारले आफ्ना सुरुको सङ्घर्षका दिनहरूमा भोग्नु पर्ने अदृश्य उत्पीडन,वास्तविक अप्ठ्याराहरू र आफूलाई मै हु भन्ने निर्मताहरुको हेपाहा प्रवृत्तिको र दुर्व्यवहार बारेमा अभिव्यक्त गर्न पाइन्न र ? त्यस्ता वास्तविकता हरूलाई कसैले आफ्नो प्रतिष्ठाको विषय बनाउनु विडम्बना नै मान्नुपर्छ !

यौटा वरिष्ठ कलाकारले जुनियर कलाकार लाई होच्याएर सामाजिक सञ्जाल अनेक थरी भन्नू कहाँ सम्म उचित हो? के हो वरिष्ठ र प्रतिष्ठित व्यक्ति भनेको ? आफूलाई इज्जतदार ठान्नेले सामाजिक सञ्जालमा प्रयोग गर्ने भाषा त्यही हुन्छ? तपाईँको बोलीचाली र आनीबानीले तपाईँलाई समाजमा प्रतिबिम्बित गरेको हुन्छ ख्याल राख्नुस् ! कुनै पनि कलाकारले स्वयं उसले गरेको मेहनत र लगनले कुनै स्थानमा पुगेको हुन्छ जुन कुराको भुक्तभोगी तपाईँ स्वयं हुनुहुन्छ भने कुनै ब्यानरको एक फिल्म चल्दैमा सोहीलाई बेचेर पछिका पाएको भन्ने तर्क बिलकुलै मिल्दैन ! नव कलाकारहरूलाई कम पारिश्रमिक दिई तिनीहरूबाट बढी भन्दा बढी फाइदा लिने चलन कहिले सम्म हुने हो? कलाकारले प्राप्त गरेको उचाइ फगत एक अनुग्रह होइन, उनको लगन र मेहनतको फल नै हो !

फेरि अब उप्रान्त यसो गरेमा वा कुनै अप्रिय कुरा अभिव्यक्त गरेमा कानुनी उपचार तिर जान सकिने कुरामा देशको एक नागरिकको हिसाबले कसैले आफ्नो धारणा व्यक्त गर्न पाउनु उसको संविधान प्रदत्त मौलिक हक हो, त्यसमा कसैले बाधा अड्चन गरेमा स्वयं कानुनी कारबाहीमा पर्न सक्ने कुराको ज्ञान हुनु जरुरी पनि छ।

आजका नारीहरू यति कमजोर छैनन् कि आफ्नो प्रतिरक्षा गर्न नसकुन् चाहे त्यो सामाजिक हिसाबले ले होस् या कानुनी हिसाबले ! आजका महिलाहरू हरेक हिसाबले सबल छन् भन्ने कुराको हेक्का राखौँ ! यदि नेपाली चलचित्र क्षेत्रलाई विकास गर्ने हो भने सबै निर्माताहरुले आफूलाई मै हु भनी भावना नराखी नव कलाकार प्रति गरिने व्यवहारमा सुधार गर्नु पर्छ।

साथै समूहगत स्वार्थ राखी स्थापित कलाकार प्रति पक्षपात व्यवहार र गुटबन्दी गरी फिल्महरू खेल्न नदिई फिल्मी क्षेत्र बाटै पलायन गराउने षड्यन्त्र बाट मुक्त समेत हुनु पर्छ ! होइन भने यस क्षेत्रलाई नै क्यारियर बनाएर यस क्षेत्रमा आउन खोज्ने पढेलेखेका र योग्य कलाकार हरूको खडेरी हुने र स्थापित कलाकारहरू विस्थापित हुनेको लर्को लामै हुन्छ ! तसर्थ सबैले आ-आफ्नो भुल स्वीकार गरी आफ्नो कमी कमजोरीहरू लाई मनन गरी त्यसमा सुधार गरी अघि बढ्नु जरुरी छ ! साथै सम्बन्धित निकायले निष्पक्ष रही यस बारेमा गम्भीरता पूर्वक सोच बिचार र अध्ययन गर्नु पर्ने नितान्त आवश्यक छ !

नेपाली चलचित्रको एक शुभ चिन्तक !

फेसबुकबाट तपाइको प्रतिक्रिया